Skip to main content

निभेको दियो (कविता)

By Ganesh B. Dhami
एउटा आशाको दियो निभेर गयो।
तर,
भक्त भने उहि निभिसकेको दियोमा अँझै तेल थपिरहेछ।
हावाको झोक्काबाट जोगाउन पालालाई हत्केलाले छोपिरहेछ।
झ्याल-ढोका थुनिरहेछ।
कत्ती मूर्ख। पटमुर्ख । म जस्तै मूर्ख ।
मानौँ,
उसको निभेको दियो एक्कासी आफै बल्नेछ।
कोमामा भएको बिरामी एक्कासी चल्नेछ।
अन्तिम शैयामा भएको मृत शरीर बोल्नेछ ।
बादलरहित निलो आकाश गर्जिदै बर्सिनेछ।
जेठ-बैशाखको खडेरिमा सुकेको मुहान फुट्नेछ।
गुडबाई भनेर गैसकेकी प्रेमिका

"आऊ मेरो हात समाऊ, सङ्गै जिऊ" भनेर फेरि लजाउदै फर्किने छे।

उसको प्यारो साक्षात भगवान तिमी,
अन्धकारको दियो कहिल्यै ननिभ्ने गरि फेरि बालिदेऊ।
मरुभूमिमा पानी पारिदेऊ।
हैन भने,
भक्त त ज्युदै मरिसक्यो ।
अब उसको भक्तिको पनि मुन्टो बटारिदेऊ।
फाँसिको सुलिमा चढाईदेऊ।
र भक्त र भक्तिको हत्याको दोष तिमी आफै लिईदेऊ, हे भगवान ।

Comments

Post a Comment

facebook, twitter, google plus